Wednesday 14th of October | २०८३ असोज २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २८ बुधबार | (रासस/एएनआई)

हाजीपुर (बिहार), २८ असोज : भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट वर्षा सिंहका अनुसार मृत्यु हुने सबै बालबालिका १५ वर्ष वा सोभन्दा कम उमेरका छन् ।

    मङ्गलबार साँझ करिब ८ः३० बजे छिमेकी गाउँमा भोजमा सहभागी हुन जाँदै गरेका करिब १५ देखि २० जना बालबालिका सवार डुङ्गा पल्टिएर दुर्घटना भएको उहाँले बताउनुभयो ।

    पत्रकारहरूसँग कुरा गर्दै जिल्ला मजिस्ट्रेट सिंहले घटनालाई अत्यन्त दुःखद् बताउनुभयो । उहाँका अनुसार उद्धार गरिएका सात जनालाई उपचारका लागि एनएमसीएच लगिएको छ र उनीहरूको अवस्था स्थिर रहेको छ ।

    उहाँले घटनास्थलमा राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ) को टोली परिचालन गरिएको तथा स्थानीय गोताखोरको सहयोगमा उद्धार कार्य भइरहेको जानकारी दिनुभयो । दुर्घटनामा १३ जना बालबालिकाको मृत्यु भएको पुष्टि गर्दै उहाँले मृतक सबै १५ वर्ष वा सोभन्दा कम उमेरका रहेको बताउनुभयो ।

    दुर्घटनापछि बेपत्ता भएका अन्य व्यक्तिको खोजी गर्न उद्धार टोली परिचालन गरिएको थियो । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

    यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा बालबालिकाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले मृतकका आफन्तलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोष (पीएमएनआरएफ) बाट प्रतिपरिवार दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

    प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको सन्देशमा प्रधानमन्त्री मोदीले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले प्रभावितलाई स्थानीय प्रशासनले सहयोग गरिरहेको पनि उल्लेख गर्नुभएको छ ।

    यसैगरी, बिहारका मुख्यमन्त्री सम्राट चौधरीले दुर्घटनामा ज्यान गुमाएका बालबालिकाका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan