एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक
काठमाडौँ, २९ असोजः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का रूपमा रहेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल (इन्स्पायर) को वेबसाइट inspire2082.org आज सार्वजनिक गर्नुभएको छ ।
सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बेभसाइट सार्वजनिक गर्नुभएको हो ।
इन्स्पायरले नेपालले सामना गरिरहेका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रविधिगत तथा भूराजनीतिक चुनौतीबारे अध्ययन तथा अनुसन्धान गर्दै आएको प्रतिष्ठानका अध्यक्ष विष्णु रिमालले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतिष्ठानले नीतिनिर्माता र विषयविज्ञलाई एकै ठाउँमा ल्याएर विभिन्न विषयमा छलफल तथा नीतिगत बहस सञ्चालन गर्दै आएको छ ।
ज्ञान उत्पादन र रणनीतिक बहसलाई सहजीकरण गर्दै नेपालको लोकतान्त्रिक, समाजवादोन्मुख तथा राष्ट्रिय विकासको एजेन्डामा योगदान पुर्याउने प्रतिष्ठानले लक्ष्य राखेको छ ।
वेबसाइटमा अर्थराजनीति, समाज अध्ययन, प्राकृतिक स्रोत, प्रविधि तथा नवप्रवर्तन र परराष्ट्र मामिलासम्बन्धी सामग्री समेटिएका छन् । यसअघि प्रतिष्ठानले आयोजना गरेका नीतिगत बहसका कार्यपत्र तथा जर्नलमा प्रकाशित आलेखसमेत वेबसाइटमा राखिएका छन् । वेबसाइटमा आठवटा कार्यपत्र र चारवटा विशेष प्रतिवेदन समावेश छन् ।
इन्स्पायरका कार्यकारी निर्देशक आशिष रेग्मीका अनुसार वेबसाइटमा प्रकाशित सामग्रीमाथि नीतिगत बहस गरी प्राप्त नयाँ विचारलाई पनि समावेश गरिनेछ ।
वेबसाइटमा प्रकाशित सामग्री तथा तिनले उठाएका विषयबारे डा युवराज खतिवडा, प्राडा योगेन्द्रबहादुर गुरुङ, डा नेत्र तिम्सिना, डा विष्णुराज उप्रेती, प्रज्ञा अधिकारी र डा टीका ढकालले धारणा राख्नुभएको थियो । वेबसाइटको नेपाली भाषातर्फ रामशरण बजगाईं र अङ्ग्रेजी भाषातर्फ बालकृष्ण कट्टेल सम्पादक रहनुभएको छ ।

