हिजबुल्लाह र हमासका हतियार केन्द्रमा इजरायली आक्रमण
इजरायली सेनाले पछिल्ला साताहरूमा दक्षिण लेबनानमा गरेको सैन्य कारबाहीका क्रममा हिजबुल्लाहका ५४० भन्दा बढी पूर्वाधार स्थल ध्वस्त पारेको जनाएको छ । त्यस्तै, गाजा पट्टीमा हमासका तीन हतियार भण्डारण केन्द्रमा आक्रमण गरी नष्ट गरिएको सेनाले मङ्गलबार जानकारी दिएको छ ।
इजरायली सेनाका अनुसार दक्षिण लेबनानको खियाम, तायर हर्फा, मेइस एल–जबल र मजदल जोन क्षेत्रमा कारबाही गरिएको थियो । त्यस क्रममा हतियार भण्डारण केन्द्रहरू नष्ट गर्नुका साथै रकेट, एन्टी–ट्याङ्क मिसाइल र विस्फोटक पदार्थसहित १५० भन्दा बढी हतियार बरामद गरिएको छ ।
सेनाले उक्त कारबाहीमा भएको सम्भावित मानवीय क्षतिबारे विवरण सार्वजनिक गरेको छैन । साथै, कारबाहीको निश्चित मिति पनि खुलाएको छैन ।
मार्चमा हिजबुल्लाहसँग पुनः लडाइँ सुरु भएपछि इजरायलले दक्षिण लेबनानका केही क्षेत्रमा आफ्ना सैनिक तैनाथ राख्दै आएको छ । लेबनानले इजरायली सैनिक फिर्ता गर्न माग गरिरहेको छ भने इजरायलले हिजबुल्लाहलाई निशस्त्र बनाउनुपर्ने अडान राख्दै आएको छ ।
यसैबीच, इजरायल र लेबनानका प्रतिनिधिमण्डलबीच मङ्गलबार अमेरिकाको फ्लोरिडास्थित टाम्पामा वार्ता हुने कार्यक्रम थियो । अमेरिकी मध्यस्थतामा हुने वार्तामा दक्षिण लेबनानबाट इजरायली सैनिकको फिर्ती र हिजबुल्लाहको निशस्त्रीकरणका विषयमा छलफल हुने तय भएको थियो ।
गाजामा पनि हतियार भण्डारण केन्द्रमा आक्रमण
इजरायली सेनाले आन्तरिक सुरक्षा निकाय शिन बेटसँगको संयुक्त विज्ञप्तिमार्फत गत बिहीबार गाजा पट्टीमा गरिएको आक्रमणमा हमासका तीन हतियार भण्डारण केन्द्र नष्ट गरिएको जनाएको छ ।
सेनाका अनुसार ती केन्द्रमा रकेट, रकेट प्रक्षेपक, रकेट प्रोपेल्ड ग्रेनेड (आरपीजी) र असल्ट राइफललगायत दर्जनौँ हतियार भण्डारण गरिएका थिए ।
आक्रमण गरिएका स्थानको विस्तृत विवरण र मानवीय क्षतिबारे भने विज्ञप्तिमा उल्लेख गरिएको छैन । इजरायली सेनाले आक्रमणअघि सर्वसाधारणलाई चेतावनी दिइएको तथा नागरिकमाथि पर्न सक्ने जोखिम कम गर्न सटीक प्रहार गर्ने हतियार र हवाई निगरानी प्रयोग गरिएको दाबी गरेको छ ।
अमेरिकाको मध्यस्थतामा अक्टोबर २०२५ मा युद्धविराम लागू भए पनि गाजामा इजरायली आक्रमण जारी रहेको छ ।
गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार, युद्धविराम लागू भएयता इजरायली आक्रमणमा कम्तीमा एक हजार ५२२ प्यालेस्टिनीको मृत्यु भएको छ भने पाँच हजार ४२१ जना घाइते भएका छन् । यससँगै अक्टोबर २०२३ यता गाजामा मारिने प्यालेस्टिनीको कुल सङ्ख्या कम्तीमा ७४ हजार ४८० पुगेको छ ।

