Sunday 18th of October | २०८३ कार्तिक २ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शारदीय नवरात्रः आठौँ देवी महागौरीको विधिपूर्वक गरियो पूजा आराधना 

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २ आइतबार | रासस

    काठमाडौँ, १ कात्तिकः शारदीय नवरात्रको आठौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।
 
    प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । 
 
    नवरात्रको दोस्रो दिन सोमबार ब्रह्मचारिणी, तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा, चौँथो दिन बुधबार कुष्माण्डा, पाँचौँ दिन बिहीबार स्कन्दमाता, छैटौँ दिन शुक्रबार कात्यायनी, सातौँ दिन शनिबार कालरात्रि र आठौँ दिन आज महागौरीको पूजा आराधना गरिएको हो ।  
 
    नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत्लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । 
 
    नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसवर्ष विजयादशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका थाप्न कुनै समस्या नरहेको समितिका अध्यक्ष डा पुरुषोत्तम भट्टराईले बताउनुभयो । दुर्गा देवीका आराधना एवं प्रसाद ग्रहण गरी नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan