Sunday 25th of October | २०८३ कार्तिक ९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रियाद विमानस्थलमा उडान सुरु, हुथीद्वारा थप आक्रमणको चेतावनी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ९ आइतबार | (रासस/एएफपी)

यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म बन्द रहेको रियाद अन्तरराष्ट्रिय विमानस्थलमा आइतबारदेखि उडानहरू पुनः सुरु भएका छन् । यद्यपि, इरान समर्थित यस समूहले आगामी दिनमा थप आक्रमण हुन सक्ने चेतावनी दिएको छ ।

    ’फ्लाइट राडार’  नामक अनुगमन साइटले आइतबार बिहान रियाद विमानस्थलबाट एउटा विमान उडेर साउदी सहर जेद्दाह तर्फ गइरहेको देखाएको छ।

    साउदी अरब र उसले समर्थन गरेको यमनको अन्तरराष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले, लामो समयदेखि कायम रहेको युद्धविराम यसै गर्मीयाममा भङ्ग भएपछि, हालैका साताहरूमा हुथी विद्रोहीहरूको निरन्तर आक्रमणको सामना गरिरहेका छन् ।

    यो द्वन्द्वले अमेरिका र इरानबीचको व्यापक टकरावको केन्द्रबिन्दुलाई यमनतर्फ मोडिदिएको छ र विश्वकै गरिब मुलुकहरूमध्ये एक यमनमा मानवीय सङ्कटलाई अझ गहिरो बनाएको छ ।

    रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलले शनिबार ’एक्स’मा पोस्ट गर्दै जानकारी दिएअनुसार, अक्टोबर २५, आइतबारदेखि लागू हुने गरी टर्मिनल (१) लाई आन्तरिक उडानहरूका लागि र टर्मिनल (२) लाई राष्ट्रिय वायुसेवा कम्पनीहरूद्वारा सञ्चालित अन्तरराष्ट्रिय उडानहरूका लागि तोकिएको छ ।

    हुथी विद्रोहीहरूले रियाद विमानस्थललाई लक्षित गरी पटक–पटक आक्रमण गरेका छन् । यसै महिना भएको एउटा आक्रमणमा १३ जनाको मृत्यु हुनुका साथै ३०० भन्दा बढी मानिस घाइते भएका थिए; यो साउदी अरबमा विगत एक दशकभन्दा बढी समययताकै सबैभन्दा घातक आक्रमण थियो । 

    हुथी विद्रोहीका सैन्य प्रवक्ता याह्या सारीले विमानस्थल अझै पनि असुरक्षित रहेको र यो एउटा सैन्य लक्ष्य भएको चेतावनी दिनुभएको छ ।

    उहाँले भन्नुभयो, “यमनी सशस्त्र बलहरूले सबै अन्तरराष्ट्रिय, क्षेत्रीय र स्थानीय वायुसेवा कम्पनीहरू, साथै त्यहाँका कर्मचारी र यात्रुहरूलाई रियादस्थित किङ खालिद विमानस्थल प्रयोग नगर्न चेतावनी दिन्छन्, किनकि यो असुरक्षित छ र हाम्रा सेनाका लागि सैन्य लक्ष्यको रूपमा रहेको छ ।”

    हुथी विद्रोहीहरूसँग लडिरहेको साउदी नेतृत्वको सैन्य गठबन्धनले आइतबार बिहान रियाद क्षेत्रमा दुईवटा ड्रोन खसालेको जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan