Tuesday 27th of October | २०८३ कार्तिक ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुनकोशीमा बेपत्ता तीनमध्ये दुई जनाको शव फेला

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ११ मंगलबार | (रासस)

खोटाङ, ९ कात्तिकः काठमाडौँबाट यात्रु लिएर खोटाङ आउँदै गरेको सुमो दुर्घटनामा बेपत्ता भएका तीनमध्ये दुई जनाको शव फेला परेको छ । 

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ३० वर्षीय हरि पुर्कुटी र सोही ठाउँकी २२ वर्षीया अप्सरा राईको शव फरकफरक स्थानमा फेला परेको हो ।

    सुनकोशीमा सुमोसँगै डुबेर बेपत्ता बनेका पुर्कुटी र राईको सनाखतपछि परिवारले शव घरतर्फ ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ । 

    पुर्कुटीको शव आइतबार उदयपुरको कटारी नगरपालिका–१४ लेखानीस्थित सुनकोशी नदी र राईको शव आज सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्रस्थित सप्तकोशी नदीमा फेला परेको हो । 

    मृतकका परिवारले दुवै जनाको शव जिल्ला अस्पताल खोटाङमा ल्याएर परीक्षण गर्ने तयारी गरेका छन् । काठमाडौँबाट चालकसहित १० जना यात्रु लिएर खोटाङ आउँदै गरेको को १ ज २९७६ नम्बरको सुमो यही कात्तिक–१ गते राति सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खसेको थियो ।

    सडकबाट करिब २०० मिटर तल सुनकोशीमा खसेर दुर्घटना हुँदा पुर्कुटी, राई र लफ्याङकै २६ वर्षीय रोशनकुमार मग्राती बेपत्ता भएका थिए । उनीहरूसँगै बेपत्ता बनेका मग्रातीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    दसैँ मनाउन घर आएका यात्रु बोकेको सुमो दुर्घटनामा चालकसहित चार जना घाइते भएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan