Tuesday 27th of October | २०८३ कार्तिक ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ११ मंगलबार |

बाजुरा, १० कात्तिकः जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल निर्माण गरिए पनि अझै सञ्चालनमा आएको छैन । स्थानीय खप्तड छेडेदह गाउँपालिका ३ र बूढीगङ्गा नगरपालिका–४ को बीचको त्यस खोलामा दुई वर्षमा निर्माण गरी सक्नुपर्ने पुल १० वर्षमा निर्माण भएको थियो । खप्तड छेडेदह–३ का स्थानीय रामबहादुर रावतका अनुसार अहिले पुल निर्माण सम्पन्न भएको महिनौँ बितिसक्दा पनि सञ्चालनमा आएको छैन । 

    “यसअघि खोलामा पुल नहुँदा विद्यार्थी, बिरामी तथा दैनिक कामकाजका लागि आवतजावत गर्ने स्थानीयले वर्षायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो,” उहाँले भन्नुभयो, “अहिले पुल बनेपछि पैदल आवतजावत गर्न सहज भएको छ । तर, पुल सञ्चालनमा नआउँदा यातायातमा हुने समस्या भने उस्तै छ ।” पुल निर्माण भएपछि सहज रुपमा यातायात सेवा लिने आशा गरेका स्थानीयवासीले पुरानै समस्या झेल्नु परेको उहाँले बताउनुभयो । 

    विसं २०७३ मा तत्कालीन जिल्ला विकास समितिद्वारा पक्की पुल लागि रु दुई करोड २९ लाखमा दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । अछामको साउँद एडभेन्चर जेभीले निर्माणको जिम्मा लिएको उक्त पुल तयार हुन करिब १० वर्षमा लागेको हो ।

    पूर्वाधार विकास कार्यालय साँफेबगर अछामका प्रमुख जङ्गबहादुर थापाले निर्माण कम्पनीको लापर्वाहीका कारण पुल निर्माणमा ढिलाइ भएको बताउनुभयो । उहाँका अनुसार दुई वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने पुल २०८३ असारमा मात्रै सम्पन्न भएको हो । पुलको काम सकिए पनि वरपरको सडकको अवस्था राम्रो नहुँदा सञ्चालनमा ल्याउन नसकिएको उहाँले बताउनुभयो । निर्माण कार्यमा भएको ढिलाइका कारण आर्थिक दायित्वसमेत थपिएको कार्यालयको भनाइ छ ।

    “पुल निर्माणको सम्पूर्ण काम सकिएको छ । तर, निर्माण कम्पनीले काममा ढिलाइ गरेपछि महालेखाले कूल बजेटको १० प्रतिशत रकम असुल गर्नुपर्ने भन्दै रु २२ लाख बेरुजु देखाएको छ,” उहाँले भन्नुभयो, “ठेकेदारले उक्त रकम असुल गर्न नमान्दा हालसम्म पुल हस्तान्तरणसमेत भएको छैन ।”

    यस्तै, पुल निर्माण सम्पन्न भए पनि सडकखण्डका विभिन्न स्थानमा पहिरोबाट सडक अवरुद्ध हुँदा स्थानीयवासीले थप समस्या भोग्नुपरेको छ । बेतालमाडौँ–डेल्टा सडकखण्डको बूढीगङ्गा नगरपालिका क्षेत्रमा लामो समयदेखि सडक अवरुद्ध रहेको स्थानीय दीपक रावतले बताउनुभयो । उहाँका अनुसार सडक अवरुद्ध हुँदा स्थानीयलाई आवतजावत तथा दैनिक कामकाजमा समस्या भइरहेको छ ।

    बूढीगङ्गा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले अवरुद्ध रहेको सडक दसैँ अगाडि नै खोलेर सुचारु गर्ने तयारी गरे पनि मेसिन बिग्रिएकाले अब मर्मतपछि लगत्तै खोलिने जानकारी दिनुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan