Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खगेन्द्र सुनारमाथि उठेका प्रश्नबारे रास्वपाको ध्यानाकर्षण, छानबिन नसकिँदासम्म औपचारिक कार्यक्रममा सहभागी हुन रोक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार |

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा उहाँमाथि उठाइएका गम्भीर प्रश्नप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीले सुनारसँग सम्बन्धित विषयमा आन्तरिक छानबिन प्रक्रिया अघि बढाउनुका साथै छानबिनको निष्कर्ष नआएसम्म सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। रास्वपाले सार्वजनिक गरेको धारणा अनुसार, सञ्चारमाध्यममार्फत आरोपका रूपमा सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी विषय गम्भीर र संवेदनशील छन्।

यस्ता विषयलाई पार्टीले सामान्य रूपमा लिन नसक्ने स्पष्ट पार्दै रास्वपाले विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ। पार्टीले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि महिलामाथिको दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन वा फौजदारी कसुरसँग सम्बन्धित आरोप लागेमा त्यसलाई गम्भीरतापूर्वक लिने जनाएको छ। महिलामाथि हुने कुनै पनि प्रकारका दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको पनि रास्वपाले उल्लेख गरेको छ।

सुनारसँग सम्बन्धित विषयको सत्यतथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको रास्वपाले जनाएको छ। अनुसन्धान प्रक्रिया प्रभावित हुन नदिन र पदीय नैतिकता कायम राख्न छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको पार्टीको भनाइ छ। यसैगरी, सार्वजनिक भएका विषयहरूको गम्भीरतालाई ध्यानमा राख्दै राज्यका सम्बन्धित निकायबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास पार्टीले व्यक्त गरेको छ। राज्यका निकायले सञ्चालन गर्ने अनुसन्धान प्रक्रियामा पार्टीका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धतासमेत रास्वपाले जनाएको छ।

‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा आफूहरू दृढ रहेको उल्लेख गर्दै रास्वपाले राज्यको स्वतन्त्र अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कदम चाल्ने स्पष्ट पारेको छ। कानुनको उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने जोकोहीलाई राजनीतिक संरक्षण नदिने दाबी गर्दै पार्टीले यस्ता गतिविधिमा संलग्न हुने व्यक्तिलाई उन्मुक्ति दिने नीति नरहेको जनाएको छ।

सुनारमाथि उठेका प्रश्नबारे राज्यका सम्बन्धित निकायबाट हुने अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट आउने निष्कर्षले आगामी कदम निर्धारण गर्ने देखिएको छ। यद्यपि, सार्वजनिक भएका आरोप र श्रव्य सामग्रीका आधारमा मात्रै कसुर प्रमाणित भएको निष्कर्ष निकाल्न नमिल्ने भएकाले निष्पक्ष अनुसन्धान र तथ्यगत प्रमाणका आधारमा विषयको टुङ्गो लाग्नु आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan