किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु , छ जना घाइते
किएभ, २८ असोज : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार राति राजधानी किएभमा भएको रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणअघि पश्चिमा सहयोगी राष्ट्रहरूबाट पूर्वसूचना प्राप्त नभएको बताउनुभएको छ । यसै साता युक्रेनमा यस प्रकारको आक्रमण दोस्रोपटक भएको उहाँले उल्लेख गर्नुभयो ।
जेलेन्स्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको जानकारीअनुसार, आक्रमणका कारण राजधानी किएभस्थित एउटा आवासीय भवनमा क्षति पुगेको छ ।
घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । साथै, राजधानीको प्रमुख विद्युत् उत्पादन केन्द्रमध्ये एउटालाई समेत निशाना बनाइएको उहाँले बताउनुभएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सप्ताहान्तमा रुस र युक्रेन ऊर्जा क्षेत्रमा युद्धविराम गर्न सहमत भएको घोषणा गर्नुभएको थियो ।
त्यसपछि राष्ट्रपति जेलेन्स्कीले पनि रुस ऊर्जा क्षेत्रमा युद्धविराम गर्न सहमत भए युक्रेनले समेत त्यसमा सहमति जनाउने बताउनुभयो ।
मंगलबार पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाले युक्रेनसँग गुप्तचरसम्बन्धी सूचना आदानप्रदान गरिरहेको र युद्ध अन्त्यका लागि रुस तथा युक्रेन दुवै पक्षसँग निरन्तर प्रयास गरिरहेको बताउनुभयो ।
“हामी उनीहरूलाई सहयोग गरिरहेका छौँ र गुप्तचरसम्बन्धी सूचना पनि साझा गरिरहेका छौँ,” ट्रम्पले भन्नुभयो ।
यसैबीच, युक्रेनी समाचार संस्था उक्रिनफर्मका अनुसार बुधबार बिहान पनि रुसले किएभलाई लक्षित गरी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि राजधानीमा पुनः विस्फोटका आवाज सुनिएका थिए ।
लगातार भइरहेका आक्रमणका घटनाले युक्रेनमा सर्वसाधारणको सुरक्षा तथा महत्त्वपूर्ण ऊर्जा पूर्वाधारको संरक्षणप्रति थप चासो बढाएको छ ।
यस्तो अवस्थामा युद्धविरामसम्बन्धी सहमतिको प्रभावकारी कार्यान्वयन, सम्बन्धित पक्षबीच संवाद र कूटनीतिक प्रयासलाई निरन्तरता दिनु महत्त्वपूर्ण देखिएको छ ।

