छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं, २८ असोज : रौतहट, चन्द्रपुर नगरपालिका-८ मोतीपुरस्थित सडकमा सिन्धुरे घारीबाट चपुरतर्फ आउँदै गरेको म.प्र.०३-००१ क २८७८ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने सिकेन्द्र चौधरीकी छोरी २ वर्षीया महिमा चौधरीको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ मेहता टोलस्थित सडकमा अन टेष्ट लेखिएको सिटी सफारीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने जमसेद अन्सारीको छोरा ६ वर्षीय साद आलमको बुधबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको सप्तकोशी न्यूरो अस्पताल भोक्राहामा उपचारको क्रममा मृत्यु भएको हो । सिटी सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देही, तिलोत्तमा नगरपालिका-१५ मधवलियास्थित सडकमा भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु.६३ प ६६९१ नम्बरको स्कुटर अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा स्कुटर चालक ओमसतिया गाउँपालिका-१ खुन्सा बस्ने ३४ वर्षीय नर बहादुर गाहाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८ गुम्बाचोकस्थित सडकमा ग.१ ख ९४२४ नम्बरको ट्रकले ना.४२ प ७२८३ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-९ बस्ने ५५ वर्षीय श्याम कुमार तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

