कञ्चनपुर यु–१९ प्रादेशिक छनोट प्रतियोगिताको फाइनलमा
कञ्चनपुर, २९ असोजः वाई–वाई यु–१९ पुरुष एकदिवसीय सुदूरपश्चिम प्रादेशिक छनोट क्रिकेट प्रतियोगितामा कैलालीलाई पाँच रनले पराजित गर्दै कञ्चनपुर फाइनलमा पुगेको छ ।
कैलालीको फाप्ला खेल मैदानमा बुधबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरले २६ ओभरमा अल आउट हुँदै ८८ रन बनाएको थियो ।
कञ्चनपुरका लागि अङ्कुश ओखेडाले सर्वाधिक ३० रन बनाए । उनले २० बलमा ६ चौका प्रहार गरे । हिमाल पन्तले ४२ बलमा तीन चौकासहित १८ र अङ्कित चन्दले २३ बलमा तीन चौकासहित १५ रनको योगदान दिए । बलिङमा कैलालीका रुद्रप्रसाद आचार्य र रोशन रावलले समान तीन–तीन विकेट लिए ।
कुल ८९ रनको सामान्य लक्ष्य पछ्याएको कैलाली ३० ओभरमा पाँच विकेट गुमाउँदै ८३ रन मात्रै बनाउन सफल भयो । कैलालीका निश्चल क्षेत्रीले ४७ बलमा चार चौका र एक छक्कासहित ३४ रन बनाए । प्रिकल चन्दले ५४ बलमा एक चौकासहित १८ रनको योगदान गरे ।
कञ्चनपुरको जितमा जनक सिंह सुनार र सृजल ओडले उत्कृष्ट बलिङ गरे । जनकले चार ओभरमा एक मेडन राख्दै तीन रन खर्चिएर चार विकेट लिए । सृजलले सात ओभरमा एक मेडनसहित १६ रन दिएर चार विकेट हात पारे । उत्कृष्ट बलिङ प्रदर्शन गरेका कञ्चनपुरका जनक सिंह सुनार ‘प्लेयर अफ दी म्याच’ घोषित भए ।
वाई–वाई यु–१९ पुरुष एकदिवसीय सुदूरपश्चिम प्रादेशिक छनोट क्रिकेट प्रतियोगिता सुदूरपश्चिमका आठ जिल्लाका टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समुह ‘ए’ मा बैतडी, डडेल्धुरा, दार्चुला र बझाङ रहेका छन भने समूह ‘बी’ मा कैलाली, कञ्चनपुर, डोटी र अछाम रहेका छन् । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मण दत्त भट्टले समूह ‘ए’ का खेल बैतडी र समूह ‘बी’ का खेल कैलालीमा सञ्चालन भइहरेको जानकारी दिनुभयो । दुई वटै समूहका विजेताबीच उपाधिका लागि प्रतिस्पर्धा हुन्छ,” उहाँले भन्नुभयो, “फाइनल खेल आगामी शनिबार बैतडीको दशरथचन्द खेलमैदानमा हुनेछ ।”

