Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अस्ट्रेलियामा बालबालिकामाथि हिंसा र यौन उत्पीडन बढ्दो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार | (रासस/सिन्ह्वा)

सिड्नी, २९ असोज : अस्ट्रेलियामा बालबालिकामाथि हुने यौन उत्पीडन र पारिवारिक हिंसासम्बन्धी आक्रमणका घटना तीव्र रूपमा बढेका छन् । सन् २०१४ देखि २०२४ सम्मको तथ्याङ्कमा आधारित अध्ययनले पछिल्ला तीनदेखि पाँच वर्षमा बालबालिकामाथि हुने हिंसा झन् बढेको देखाएको छ ।

अध्ययनअनुसार, सन् २०१४ देखि २०२४ सम्म १० देखि १७ वर्ष उमेर समूहका बालिकामा यौन उत्पीडनको दर ५१ प्रतिशत र सोही उमेर समूहका बालकमा ६० प्रतिशतले बढेको छ । सन् २०२१ यता उक्त उमेर समूहका बालकमा यौन उत्पीडनको दर थप १५.७ प्रतिशतले वृद्धि भएको सिड्नी विश्वविद्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

‘जेएएमए नेटवर्क ओपन’ नामक जर्नलमा प्रकाशित अध्ययनले सन् २०२० आसपासदेखि बालबालिकामाथि हुने पारिवारिक हिंसासम्बन्धी आक्रमण पनि तीव्र रूपमा बढेको देखाएको छ । विभिन्न उमेर र लैङ्गिक समूहमा यस्ता आक्रमणको वार्षिक वृद्धि दर आठदेखि २० प्रतिशतसम्म रहेको अध्ययनमा उल्लेख छ ।

अनुसन्धानकर्ताहरूले बालबालिकामाथि हुने हिंसा बढ्नुमा आय असमानतामा वृद्धि, कोभिड–१९ महामारीको प्रभाव, जीवनयापनको बढ्दो खर्च, अनलाइन माध्यममा लैङ्गिक मान्यतामा आएको परिवर्तन तथा सहयोग सेवामा रहेका कमीलाई सम्भावित कारणका रूपमा औँल्याएका छन् । हिंसाका घटनाबारे उजुरी तथा प्रतिवेदन गर्ने प्रवृत्ति बढ्नुले पनि तथ्याङ्कमा देखिएको वृद्धिमा योगदान गरेको हुन सक्ने उनीहरूको भनाइ छ ।

सिड्नी विश्वविद्यालयअन्तर्गतको माटिल्डा सेन्टर फर रिसर्च इन मेन्टल हेल्थ एन्ड सब्सटेन्स यूजकी प्रमुख अनुसन्धानकर्ता लुसी ग्रुमिटले बालबालिकालाई हिंसाबाट सुरक्षित राख्न रोकथामका उपाय र प्रारम्भिक हस्तक्षेपमा थप लगानी गर्न आह्वान गर्नुभयो ।

अध्ययनले भने आक्रमणबाट लागेको चोटका कारण बालबालिकालाई अस्पताल भर्ना गर्नुपर्ने घटनामा उल्लेखनीय परिवर्तन नभएको देखाएको छ । त्यस्तै, अध्ययन अवधिमा प्रमाणित बाल दुव्र्यवहारका घटनामा पनि वृद्धि भएको पाइएको छैन ।

यद्यपि, अनुसन्धानकर्ताहरूले प्रमाणित दुव्र्यवहारका घटना घटेको देखिँदैमा बालबालिकामाथिको हिंसा वास्तविक रूपमा कम भएको निष्कर्ष निकाल्न नमिल्ने चेतावनी दिएका छन् । उनीहरूका अनुसार, बाल संरक्षणसम्बन्धी निकायसँग दुव्र्यवहारका उजुरीमाथि अनुसन्धान गर्न पर्याप्त क्षमता नहुँदा पनि प्रमाणित घटनाको सङ्ख्या घटेको देखिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan