औषधि व्यवस्था विभाग ‘राष्ट्रिय एकद्वार प्रणाली’मा आबद्ध
काठमाडौँ, २९ असोजः औषधि व्यवस्था विभाग भन्सार विभागले सञ्चालन गरेको ‘राष्ट्रिय एकद्वार प्रणाली’मा आबद्ध भएको हो । आज यहाँ आयोजित कार्यक्रममा भन्सार विभागका महानिर्देशक यमलाल भुसाल र औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले प्रणालीमा आबद्ध भएको शुभारम्भ गर्नुभयो ।
औषधि व्यवस्था विभागबाट हुने भन्सार विभागसँग सम्बन्धित सबै कागजात अब एकद्वार प्रणालीमा आबद्ध भई ‘अनलाइन’मार्फत हुनेछ । कार्यक्रममा विभागका महानिर्देशक भट्टराईले भन्सार जाँचपाससँग सम्बन्धित औषधि व्यवस्था विभागका कामलाई अनलाइनमार्फत सेवा प्रदान गर्नका लागि एकद्वार प्रणालीमा आबद्ध गरिएको बताउनुभयो ।
उहाँले जनशक्ति कम भएको अवस्थामा एकद्वार प्रणाली आफ्नो लागि धेरै राम्रो भएको भन्दै आयुर्वेद, फर्मा सबैलाई यस प्रणालीमा समेटिएको बताउनुभयो । “यसअघि हामीले औषधिसँग सम्बन्धित सबै काम कागजी (म्यानुल्ली) रूपमा गर्दै आइरहेका थियो । अब हामी राष्ट्रिय एकद्वार प्रणालीमा जोडिएर सबै काम अनलाइनमार्फत गर्ने भयौँ”, उहाँले भन्नुभयो, “यसले अब सेवाग्राहीको काम छिटोछरितो अनलाइनमार्फत हुने भयो ।”
उहाँका अनुसार औषधि व्यवस्था विभागले अनुमतिपत्र, छुटपत्र, निकासीपत्र, पैठारीपत्र, प्रमाणपत्र जस्ता कार्य अब भन्सार विभागको एकद्वार प्रणालीमामार्फत अनलाइनमा राखिदिने छ । सोहीअनुसार भन्सार विभागले ती कागजातको अध्ययन गरेर औषधिसँग सम्बन्धित कार्यलाई अनलाइनमार्फत छिटोछरितो गर्नेछ ।
भन्सार विभागका महानिर्देशक भुसालले विगत लामो समयदेखिको प्रयास गरे पनि भर्खरै मात्र आफूहरुले सफलता पाएको बताउनुभयो । “भन्सार प्रणालीमा एकद्वार प्रणाली ठूलो फड्को मार्ने प्रणाली हो । वस्तु आयात निर्यात गर्दा अब अनलाइनमार्फत कागजात हेर्ने गरिन्छ”, उहाँले भन्नुभयो, “यसले गर्दा काम छिटो हुने भयो ।” उहाँले एकद्वार प्रणालीमा ४८ निकाय आबद्ध हुने भने तापनि अहिलेसम्म १५ वटा सरकारी निकाय मात्र आबद्ध भएको जानकारी दिनुभयो ।
कार्यक्रममा भन्सार विभागका निर्देशक रहिम अन्सारीका सबै कार्यालयका भन्सारसँग सम्बन्धित सबै कागजात यही एकद्वार प्रणालीमार्फत जारी हुने बताउनुभयो । उहाँले भन्सार विभागले प्रणालीमा आएका कागजागलाई हेरेर रुजु र प्रमाणीकरण गर्ने बताउनुभयो ।
“हामीले प्रणालीमा आएका कागजात हेरेर रिन्भू तथा प्रमाणीकरण गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “कागजात हेरेर प्रमाणीकरण भइसकेपछि भन्सार प्रणाली जान्छ र सोही कागजातका आधारमा नै भन्सारमा निकासी र पैठारीको काम हुने गर्दछ ।”

