Saturday 24th of October | २०८३ कार्तिक ८ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ८ शनिबार |

काठमाडौँ, ७ कात्तिकः रसुवामा अवस्थित तामाङ सम्पदा पदमार्ग र धादिङमा अवस्थित रुविभ्याली पदमार्ग पर्यटकका लागि खुला भएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षति पुगेको पदमार्ग स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमा अस्थायी फड्के पुल निर्माण भएसँगै पर्यटकका लागि खुला भएको हो ।

    रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले भोटेकोशी बाढीले क्षति पुगेको स्याफ्रुबेँसीमा आवतजावतका लागि अस्थायी पुल निर्माण भएसँगै पर्यटकका लागि उक्त पदमार्ग खुला भएको जानकारी दिनुभयो ।

    उक्त पदमार्ग भएर वार्षिक एक हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्दै आएका छन् । तिब्बती प्रभाव र परम्पराले भरिपूर्ण तामाङ समुदायको जीवनशैली, ढुङ्गाले कुँदिएका घर तथा काठका झ्यालहरू, गुम्बा, मानेलगायतको अवलोकन गर्न मिल्ने उक्त पदमार्गमा सातदेखि १० दिनसम्म पदयात्रा गर्न सकिनेछ । उक्त पदमार्गमा आमाछोदिङ गाउँपालिकाको स्याफ्रुबेँसी, बाहुनडाँडा, गोल्जुङ, गत्लाङ हुँदै पार्वतीकुण्ड पुग्न सकिन्छ । 

    उक्त पदमार्गबाट गणेश हिमाल, लाङ्टाङ  हिमशृङ्खला तथा चिनियाँ सिमानाको मनोरम दृश्य हेर्न सकिने रसुवा–नुवाकोट पर्यटन समाजका सचिव दिनेश तामाङ फुलुङले जानकारी दिनुभयो ।

    उक्त पदमार्ग भएर धादिङको सुन्दर उपत्यका रुविभ्यालीसमेत जान सकिन्छ । धादिङका पर्यटन व्यवसायी राकेश धमलाले रसुवाको स्याफ्रुबँेसीस्थित भोटेकोशी नदीमा अस्थायी फड्के पुल निर्माण भएसँगै रसुवाको तामाङ सम्पदा पदमार्गसँगै धादिङको रुविभ्याली पदमार्गसमेत खुला भएको जानकारी दिनुभयो ।

    तामाङ सम्पदा पदमार्ग भएर पदयात्रा गर्ने पर्यटक धादिङको रुविभ्याली गाउँपालिकाअन्तर्गत सोम्ताङ, पाङ्साङपास, गणेश हिमालमा रहेको सेतोदह, कालोदह हुँदै धादिङको गङ्गाजमुना र गोरखाको मनास्लु जाने गरेका छन् ।

    गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीबाट अवरुद्ध भएको मनास्लु लार्केपास क्षेत्रसमेत पर्यटकका लागि खुला भइसकेकाले उक्त क्षेत्रमा पदयात्रा गर्न सकिनेछ । धादिङको रुविभ्याली पदमार्गमा वार्षिक ४०० देखि ५०० को हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक जाने गरेका छन् ।

    भोटेकोशी बाढीबाट प्रभावित पर्यटकीय गन्तव्य लाङ्टाङ, क्यान्जिन र गोसाइँकुण्ड क्षेत्र पदयात्राका लागि यसअघि नै पदयात्राका लागि खुला भइसकेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले क्षतिग्रस्त बनाएको बेत्रावतीमा बेलीब्रिज जडान भएपछि लाङटाङ क्षेत्र पुग्न दुई वैकल्पिक पदमार्ग उपलब्ध भएको ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)ले जनाएको छ ।

    पहिलो विकल्पअनुसार काठमाडौँ हुँदै त्रिशूली र बेत्रावतीबाट धुन्चे वा ठूलोस्याफ्रु पुगेर बम्बु, लामाहोटेल, लाङटाङ हुँदै क्यान्जिनसम्म पदयात्रा गर्न सकिनेछ । यसैगरी, दोस्रो विकल्पमा काठमाडौँ–चिसापानी–हेलम्बु–थारेपाटी–घोप्टे–गोसाइँकुण्ड–ठूलोस्याफ्रु–बम्बु–लामा होटल–लाङटाङ हुँदै क्यान्जिन पुग्न सकिने टानले जनाएको छ । टानले पदयात्री, पर्यटक तथा सम्बन्धित पर्यटन व्यवसायीलाई यात्रा सुरु गर्नुअघि पदमार्गको पछिल्लो अवस्था बुझ्न र आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan