सर्बियाका नयाँ नेताले रुससँगको सहकार्यको महत्व बुझ्ने क्रेमलिनको आशा
विद्यार्थी नेतृत्वको आन्दोलनपछि लामो समयदेखि रुसनिकट मानिएका सर्बियाली नेता अलेक्जान्डर भुसिक राष्ट्रिय निर्वाचनमा पराजित भएपछि नयाँ राजनीतिक नेतृत्वले रुससँगको सहकार्यका फाइदा बुझ्ने आशा क्रेमलिनले व्यक्त गरेको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार पत्रकारहरूसँग कुरा गर्दै रुससँगको सहकार्य सर्बियाको हितमा रहेको बताउनुभयो ।
“हामी आशा गर्छौँ कि नयाँ राजनीतिक शक्तिहरूले रुससँगको सहकार्य सर्बियाका लागि लाभदायक छ भन्ने बुझ्नेछन्,” उहाँले भन्नुभयो ।
यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सर्बियामा आएको राजनीतिक परिवर्तनलाई स्वागत गर्दै यसलाई देश र त्यहाँका जनताको इतिहासमा नयाँ अध्यायको सङ्ज्ञा दिनुभएको छ ।
जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “हामी हाम्रो सहकार्यलाई अझ विस्तार गर्न तयार छौँ । सर्बियाली जनताका सबै असल आकांक्षा पूरा होऊन्”।
भुसिकले लामो समयदेखि सर्बियाको युरोपेली सङ्घ (ईयू) मा आबद्ध हुने आकांक्षा र रुससँगको घनिष्ठ सम्बन्धबीच सन्तुलन कायम गर्ने प्रयास गर्दै आउनुभएको थियो ।
सन् २०२२ मा युक्रेनमाथि रुसले पूर्णस्तरको आक्रमण सुरु गरेयता पनि क्रेमलिनसँग घनिष्ठ सम्बन्ध कायम राख्ने थोरै युरोपेली मुलुकमध्ये सर्बिया एक रहँदै आएको छ ।
गत वर्ष दोस्रो विश्वयुद्धमा विजय हासिल गरेको ८०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन भुसिक रुस जानुभएको थियो ।

