Monday 26th of October | २०८३ कार्तिक १० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १० सोमबार | (रासस)

कपिलवस्तु, ९ कात्तिकः कामदारको अभाव र ज्याला खर्च बढ्दै गएपछि यहाँका किसान धान छार्ने आधुनिक थ्रेसर मेसिनको प्रयोगतर्फ आकर्षित हुन थालेका छन् ।

    धान काटेर भित्र्याउने समयमा खेताला पाइन छाडेपछि परम्परागत दाइँ र छार्न समय र खर्च धेरै लाग्ने भएपछि किसानले थ्रेसर मेसिनको प्रयोग बढाएका हुन् । 

    जिल्लाका अधिकांश स्थानमा पाकिसेको धान भित्र्याउने चटारोसँगै किसानले धान र पराल छुट्याउन थ्रेसरको प्रयोग गरिरहेका छन् । कपिलवस्तु नगरपालिका–६ थुम्हवाका कृषक प्रभु धोवी गाउँमा कामदार पाउन मुस्किल हुने तथा पाइएपनि कामदारको ज्याला महँगो पर्ने बताउनुहुन्छ ।

    “थ्रेसर मेसिनबाट काम गर्दा छिटो हुन्छ र खर्च पनि कम लाग्छ । त्यसैले धान भित्र्याउन मेसिनकै भर पर्न थालेका छौँ”, उहाँले भन्नुभयो ।
महाराजगञ्ज नगरपालिका–२ पडरियाका कृषक विनोद भुजले पनि थ्रेसर मेसिनले खेतीपातीको काम सहज बनाएको बताउनुभयो । गोरु र कृषि मजदुरको अभाव बढ्दै गएको अवस्थामा सानो आकारका थ्रेसर मेसिन खेतसम्म लैजान र प्रयोग गर्न सजिलो भएको उहाँको भनाइ छ । बिहान, दिउँसो तथा साँझसमेत मेसिन प्रयोग गर्न सकिने भएकाले किसानलाई सुविधा पुगेको उहाँले बताउनुभयो ।

    थ्रेसर मेसिन सञ्चालक राकेश कुर्मीका अनुसार मेसिन प्रयोग गर्दा समय र श्रम बचत हुनुका साथै खर्चसमेत कम लाग्ने गरेको छ । उहाँले धान र पराल छुट्याएबापत प्रतिघण्टा दुई हजार ५०० देखि तीन हजार रुपैयाँसम्म लिने गरेको बताउनुभयो । जिल्लामा थ्रेसर मेसिनको माग बढ्दै गएको उहाँको भनाइ छ ।

    आधुनिक प्रविधिको प्रयोगले कृषि कार्य सहज भए पनि परम्परागत दाइँ संस्कृतिको संरक्षणमा पनि ध्यान दिनुपर्ने कृषक श्यामलाल धोबीले बताउनुभयो ।

    कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरीका अनुसार जिल्लामा ८४ हजार ५९१ हेक्टर खेती गरिँदै आएको बताउनुभयो । त्यसमध्ये यस वर्ष ६३ हजार ६४८ हेक्टरमा धान खेती गरिएको प्रमुख चौधरीको भनाइ छ । गत वर्ष जिल्लामा ६६ हजार २६५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको उहाँले बताउनुभयो ।

    जिल्लाका १० वटै स्थानीय तहका किसानले धान र पराल छुट्याउन थ्रेसर मेसिनको प्रयोग गर्दै आएका छन् । धान र पराल छुट्याउन थ्रेसर मेसिनको प्रयोग गरिँदै । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan